
नेपाली सफ्टवेयर कम्पनी जुनेली इङ्कलेले ल्यायो रिमोट डेस्कटप एप ‘मल्टिपल डेस्क’, केके छन् विशेषता ?
काठमाडौँ । नेपाली सफ्टवेयर कम्पनी जुनेली इङ्कले रिमोट डेस्कटप एप्लिकेसन ल्याएको छ । डिभाइसमा भौतिक पहुँचबिनै अनलाइनमार्फत काम गर्न सहज बनाउने उद्देश्यले कम्पनीले ‘मल्टिपल डेस्क’ नामक एप ल्याएको हो ।
कोभिड-१९ महामारीपछि ‘वर्क फ्रम होम’ र ‘हाइब्रिड वर्क मोडेल’
सामान्य बनिरहेको समयमा टिमभ्युअर, एनिडेस्क जस्ता विदेशी सफ्टवेयरको
बलियो विकल्पको रूपमा कम्पनीले स्वदेशी रिमोट डेस्कटप एप ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार यो एप पूर्ण रूपमा नेपालमै विकास गरिएको हो ।
यो एप विशेषगरी आईटी कम्पनी, बैंक, कर्पोरेट कार्यालय, शिक्षक, विद्यार्थी लगायतलाई उपयोगी हुने कम्पनीले जनाएको छ ।
रिमोट डेस्कटप एपमा डेटा सुरक्षा सबैभन्दा ठुलो चासोको विषय बन्ने गर्छ । यसैलाई ध्यानमा राख्दै मल्टिपल डेस्कमा विश्वकै सबैभन्दा सुरक्षित मानिने ‘एईएस-२५६ बिट इन्क्रिप्सन’ (AES 256-bit Encryption) प्रविधि प्रयोग गरिएको कम्पनीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अपार थेवेले जानकारी दिए ।
“हामीले डेटा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ,” थेवेले टेकपानासँग कुरा गर्दै भने, “प्रयोगकर्ताको प्राइमरी डेटा नेपालकै सर्भरमा ‘जेरो नलेज बेस’मा राखिन्छ । यसले गर्दा हामी आफैँ पनि त्यो डेटा हेर्न सक्दैनौँ । यसमा प्रयोगकर्ताको जानकारी चुहावट हुने वा दुरुपयोग हुने जोखिम रहँदैन ।”
सुरक्षाका साथै नेपालको इन्टरनेटको अवस्थालाई ध्यानमा राख्दै यो एपलाई कम स्पिडको इन्टरनेटमा पनि सहजै चल्न सक्ने गरी डिजाइन गरिएको उनले सुनाए । नेपाली कम्पनी भएकाले प्रयोगकर्ताले स्थानीय स्तरमै प्राविधिक सहयोग र सेवा प्राप्त गर्न सक्नेछन् । एपको निःशुल्क संस्करण पनि उपलब्ध छ । यसमा प्रयोगकर्ताले प्रतिदिन २ जीबीसम्मको डेटा ट्रान्सफर गर्न सक्छन् ।
सीईओ थेबेका अनुसार कर्पोरेट ग्राहकका लागि भने सशुल्क संस्करणमा ‘अडिट लग’को विशेष सुविधा छ । यसले कुन प्रयोगकर्ताले कुन फाइल कहाँ कपि गर्यो भन्ने सबै रेकर्ड राख्न सक्छ । यो सुविधाले व्यावसायिक संस्थामा डेटा सुरक्षालाई थप बलियो बनाउने उनको विश्वास छ । साथै सशुल्क भर्सनमा छिट्टै नै भिडिओ कलिङ र मिटिङको सुविधा, सेल्फ होस्टिङ तथा इन्ड-टु-इन्ड इन्क्रिप्सन जस्ता एड्भान्स्ड फिचर ल्याउने कम्पनीको तयारी छ ।
हाल यो एपको बेटा भर्सन कम्पनीको आधिकारिक वेबसाइटबाट निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । सशुल्क संस्करणको मूल्य प्रतिमहिना ६५० रुपैयाँबाट सुरु भई कर्पोरेट प्रयोगकर्ताका लागि ९५० रुपैयाँ (वार्षिक बिलिङ) सम्म रहेको छ । हाल एप इन्स्टल गर्दा विन्डोज डिफेन्डरले ‘अनसेफ’ भनेर देखाउन सक्नेबारे सीईओ थेवेले स्पष्ट पारे ।
“हामीले एपको ‘पब्लिसर लाइसेन्स’का लागि आईएसओ प्रमाणीकरण प्रक्रिया अगाडि बढाएका छौँ । त्यो स्वीकृत भइनसकेकाले यस्तो देखिएको हो । प्रयोगकर्ताले रन एनिवे (Run Anyway) मा क्लिक गरेर ढुक्कसँग इन्स्टल गर्न सक्छन्,” उनले भने ।
जुनेली इङ्कमा हाल २५ जनाभन्दा बढीको टिम कार्यरत छ । यो कम्पनीले ‘मल्टिपल डेस्क’ बाहेक कोर बैंकिङ सिस्टम र साना तथा खुद्रा पसलका लागि ‘जुनेली ट्रेडिङ’ नामक सफ्टवेयर पनि विकास गरेको छ ।